Wednesday, December 1, 2010

सामुदायिक प्राकृतिक चिकित्सालयमा सेवाग्राहीको चाप

औषधिबाट रोग निको नभएपछि नवलपरासी जिल्लाको रजहरमा स्थापना गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय शिक्षण अस्पतालमा यतिबेला सेवाग्राहीहरूको चाप बढेको छ ।

औषधि उपचारबाट लामो समयसम्म आफ्नो रोग निको नभएका बिरामीहरू अहिले यस प्राकृतिक चिकित्सालयमा उपचारका लागि आउन थालेका छन् । चितवन गीतानगरका धनबहादुर श्रेष्ठ प्यारालाइसिसबाट पीडित छन् । लामो समयसम्म पनि औषधिले उनको रोग निको नभएपछि अहिले उनले प्राकृतिक चिकित्सा पद्दति अँगालिरहेका छन ।

नेपालमा पहिलो पटक स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालय शिक्षण अस्पताल रजहरले उपचार सेवा सुरु गरेपछि प्यारालाइसिसदेखि योगा, प्राकृतिक चिकित्सा र जडीबुटीबाट हुने जुनसुकै रोगको उपचार गरिन थालेको अस्पताल प्रमुख डा. चन्द्रकान्त सुवेदीले बताउनुभयो ।

जनस्तरबाट नेपालमै पहिलोपटक सञ्चालनमा आएको सामुदायिक प्राकृतिक चिकित्सालाई शिक्षण अस्पतालमा प्रत्येक बिरामीका लागि उसले चाहेको सेवा र सुविधा दिइने र हाल ६० शैयाको यो अस्पताल तीनसय शैयाको बनाइने लक्ष्य राखिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख हरि सापकोटाले बताउनुभयो ।

प्राकृतिक चिकित्सा विधामा नेचुरोपेथि र योगमा अनुसन्धान गर्ने पिएचडीसम्मको पढाइमा अब विदेश जानुनपर्ने गरी रजहरमा स्थापना भएको यो शिक्षण अस्पतालले गत असार १ गतेदेखि उपचार सेवा सुरु गरेपछि हाल २५० बढी रोगीबाट नियमित उपचार भइरहेको अस्पताल प्रमुख डा. सुवेदीले बताउनुभयो ।

जनस्तरबाट रु. चार करोड ५० लाख खर्च भइसकेको यो अस्पतालमा बिरामीका लागि खाना, बस्नदेखि होमियोपेथिक औषधिबाट उपचार गरिने गरिएको प्रशासकीय प्रमुख सापकोटाले जानकारी दिनुभयो । एलोपेथिक औषधि सेवनबाट रोग निको हुन नसकेपछि होमियोपेथिक उपचार पद्दतिबाट रोग निको पार्न यहाँ बिरामी बढ्न थालेका छन्, पिसाबको समस्या, पेटको अल्सर, प्यारालाइसिसदेखि जस्तोसुकै रोगको उपचारमा पनि प्राकृतिक चिकित्सा पद्दति सफल हुने डा. सुवेदीको भनाइ छ ।

राज्यबाट कुनै सहयोग नपाएको यो चिकित्सालयले प्राकृतिक चिकित्सा क्षेत्रमा ठूलो फड्को मार्न सुरु गरेको छ । योगा, प्राकृतिक चिकित्सा र जडीबुटीबाट उपचार सुरु हुने यो शिक्षण अस्पताल जो सुकै तड्पिएर बसेका बिरामीका लागि वरदान सावित हुन सक्ने डा. सुवेदीको भनाइ छ ।

No comments:

Post a Comment